
कार्यालय सहयोगीले बिरामीकाे उपचार गरेपछि…
कैलाली- कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश डेन्टल क्लिनिकहरूले जनस्वास्थ्यसँग गम्भीर खेलबाड गरिरहेको पाइएको छ। नेपाल मेडिकल काउन्सिलको विशेष अनुगमन टोलीले सोमबार गरेको आकस्मिक निरीक्षणका क्रममा चिकित्सकको अनुपस्थितिमा कार्यालय सहयोगी र क्लिनिक सञ्चालक आफैँले बिरामीको उपचार गरिरहेको तथ्य फेला परेको हो।
काउन्सिल सदस्य डा. अजय कुमार शाहको नेतृत्वमा डा. विकास खड्का, डा. अमृतराज जैशी र इन्स्पेक्टर जेनित कुँवर सम्मिलित टोलीले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म धनगढी र अत्तरियाका १० वटा डेन्टल क्लिनिकमा सघन अनुगमन गरेको थियो।
अनुगमनका क्रममा स्मृति डेन्टल क्लिनिकमा कार्यालय सहयोगीले नै बिरामीको दाँत सफा गर्ने (स्केलिङ) कार्य गरिरहेको अवस्थामा भेटिएको टोलीले जनाएको छ। उक्त क्लिनिकमा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको र सञ्चालकले दर्तासम्बन्धी आवश्यक कागजात समेत प्रस्तुत गर्न नसकेको बताइएको छ।
त्यसैगरी, अत्तरियास्थित शिखर डेन्टल क्लिनिकका सञ्चालक मीन देउवाले चिकित्सक अनुपस्थित हुँदा आफैँले दाँतको जरासम्बन्धी उपचार (आरसिटी) गर्ने गरेको स्वीकार गरेका छन्।
स्माइल डेन्टल क्लिनिकमा पनि चिकित्सक अनुपस्थित रहेको अवस्थामा सीडीएस रोशन रेग्मीले बिरामीको उपचार गरिरहेको भेटिएको छ। न्यु धनगढी डेन्टल क्लिनिकमा चिकित्सक उपस्थित भए पनि क्लिनिकको नवीकरण नगरिएको र चिकित्सक नभएको समयमा सञ्चालक पदम भट्टले बिरामी हेर्ने गरेको प्रमाण टोलीले फेला पारेको जनाएको छ।
बुद्ध डेन्टल क्लिनिकमा दर्ता प्रक्रिया पूरा भएको पाइए पनि चिकित्सकसँगको औपचारिक सम्झौता पत्र भने उपलब्ध नभएको टोलीको भनाइ छ।
अनुगमन टोली बजार क्षेत्रमा पुगेको सूचना बाहिरिएपछि धेरैजसो क्लिनिकहरू बन्द गरिएको पनि जनाइएको छ। युनिभर्सल, श्रीराम, उग्रतारा, न्यु समाज तथा लविस सेवा डेन्टल क्लिनिक टोली पुग्नुअघि नै बन्द अवस्थामा भेटिएका थिए।
अनुगमन गरिएका अधिकांश क्लिनिकमा सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्टेरिलाइजेशन प्रणाली प्रभावकारी नरहेको, उपकरणहरू फोहोर अवस्थामा रहेको तथा बिरामीको उपचारसम्बन्धी अभिलेख नराखिएको समेत पाइएको छ।
योग्य चिकित्सक र दर्ताप्राप्त जनशक्ति बिना नै सेवा सञ्चालन गरिरहेका यस्ता क्लिनिकहरूले जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गरेको निष्कर्ष निकाल्दै मेडिकल काउन्सिलको टोलीले सम्बन्धित निकायलाई ती क्लिनिक तत्काल बन्द गरी सिल गर्न सिफारिस गरेको छ।
क्लिनिकहरूले दर्ताका केही आधारभूत प्रक्रिया पूरा गरे पनि उपचार प्रणाली, सरसफाइ र वातावरणीय सुरक्षामा चरम लापरबाही देखिएको भन्दै टोलीले कडा कारबाही आवश्यक रहेको जनाएको छ।



कागजपत्र |
