बाढी र पहिरोले बीपी, अरनिको र मध्यपहाडी राजमार्ग अवरुद्ध


काठमाडौं-  केही दिनदेखि परिरहेको लगातार वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोले पूर्णरूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले मंगलबार बिहान अद्यावधिक गरेको सूचनाअनुसार बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ घुमाउने र चारसयबेँसी क्षेत्रमा पहिरो खस्नुका साथै खोलाले सडक बगाएपछि बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध भएको हो।

त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यसैबीच ललितपुरको बागमती गाउँपालिका–३ भालुखोला र मकवानपुरको भीमफेदी गाउँपालिका–८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।

त्यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरो खस्दा बेनी–जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ। पहिरो पन्छाएर सडक पुनः सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

image-36-1536x1187-1777959198.png

प्रतिक्रिया