साताको पहिलो दिन नेप्सेमा गिरावट, ३९ अंकले घट्यो बजार


काठमाडौं-  साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेप्से परिसूचक ३९.२७ अंक अर्थात् १.४३ प्रतिशतले घटेर २६९९.४४ विन्दुमा झरेको हो।

बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार यो रकम घटेर ४ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ। आज ९५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएका छन्।

कुल २६९ कम्पनीमध्ये केवल १७ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको मूल्यमा गिरावट आएको छ, जसले बजारको समग्र मनोविज्ञान नकारात्मक रहेको देखाउँछ।

कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३१ करोड २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, आँखुखोला जलविद्युत र एनआईसी एशिया बैंक पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।

बजार ओरालो लागे पनि धेरै कम्पनीमा दोहोरो अंकको उतारचढाव भने देखिएन। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने १२.५८ प्रतिशतको गिरावट देखिएको छ।

समूहगत सूचकतर्फ माइक्रोफाइनान्स बाहेक सबै समूह राताम्मे देखिएका छन्। विशेषगरी विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूहमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। होटल, लगानी (इन्भेष्टमेन्ट) र ट्रेडिङ क्षेत्र पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया