निजी क्षेत्रमाथि धरपकड हुँदैन, तर अपराधमा छुट छैन : अर्थमन्त्री वाग्ले


काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताएका छन्। सोमबार ललितपुरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको उल्लेख गरे।

उनका अनुसार उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ। “सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ,” उनले भने, “निजी क्षेत्रमाथि अनावश्यक धरपकड हुन्छ भन्ने भ्रम राख्नु आवश्यक छैन।”

अर्थमन्त्री वाग्लेले राजनीतिक प्रभावका आधारमा थन्क्याइएका पुराना अनुसन्धानहरू मात्रै अघि बढाइएको स्पष्ट पार्दै व्यवसायको आवरणमा आपराधिक गतिविधि गरेको पाइएमा भने कारबाही हुने चेतावनी दिए।

उनले रास्वपाको चुनावी घोषणापत्रमा उल्लेखित प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयारी भइरहेको पनि जानकारी दिए। रोजगारी सिर्जना, उत्पादन वृद्धि र निर्यात विस्तारमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहने उनको भनाइ छ।

मन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण, सहज नियम–प्रक्रिया र नीतिगत स्थायित्वमा सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए। साथै विदेशी लगानी भित्र्याउन आवश्यक वातावरण तयार गरिने पनि उनले बताए।

प्रतिक्रिया