
क्यानडामा कपिल शर्माको क्याफे नजिक फेरि गोली प्रहार
टोरन्टो – क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा चर्चित भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ नजिकै रहेको एक रेस्टुरेन्टमा गोली प्रहार भएको छ। ‘चाय सुट्टा बार’ आउटलेट नजिकै भएको यो घटनाले कपिल शर्माको सुरक्षा अवस्थाबारे गम्भीर चिन्ता उत्पन्न गराएको छ।
घटनापछि सामाजिक सञ्जालमा टायसन बिश्नोई जोरा सिद्धू नामको फेसबुक अकाउन्टबाट धम्कीपूर्ण पोस्ट सार्वजनिक भएको बताइएको छ। उक्त पोस्टमार्फत कपिल शर्मा र क्याफेका मालिकलाई ज्यान मार्ने धम्की दिँदै ‘लाइनमा आउन’ चेतावनी दिइएको उल्लेख छ। सो पोस्टमा माग पूरा नभए क्याफेको अवस्था पनि खराब हुने संकेत गरिएको छ।
कपिल शर्माको क्याफे लक्षित आक्रमण यो पहिलो पटक भने होइन। सन् २०२५ देखि नै उक्त क्याफेमाथि लगातार गोली प्रहार र आक्रमणका घटना भइरहेका छन्।
पहिलो घटना १० जुलाई २०२५ मा क्याफे खुलेको केही दिनमै भएको थियो, जहाँ गोली प्रहार गरिएको थियो। त्यसपछि ७ अगस्ट २०२५ मा पुनः सोही स्थानमा धेरै राउन्ड फायरिङ भएको थियो। अक्टोबर २०२५ मा भएको तेस्रो आक्रमणको जिम्मेवारी लरेन्स बिश्नोई नेटवर्कसँग जोडिएका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत लिएका थिए।
यी लगातारका घटनाले बिश्नोई समूहले कपिल शर्मालाई योजनाबद्ध रूपमा लक्षित गरिरहेको आशंका बलियो बनेको छ।
ग्याङको दाबीअनुसार कपिल शर्माले आफ्नो कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ मा अभिनेता सलमान खानलाई आमन्त्रण गरेपछि उनीसँग असन्तुष्टि बढेको हो। बिश्नोई नेटवर्कले सलमान खानसँग जोडिने वा उनलाई समर्थन गर्ने जोकोहीलाई पनि परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएको बताइन्छ।
क्याफेमाथि पटक–पटक आक्रमण भइरहेका विषयमा कपिल शर्माले यसअघि पनि प्रतिक्रिया दिँदै क्यानडाको सुरक्षा व्यवस्था र प्रहरी क्षमतामाथि प्रश्न उठाएका थिए। उनले यस्ता घटनालाई रोक्न स्थानीय प्रशासन सक्षम नभएको आरोपसमेत लगाएका थिए।



कागजपत्र |
