डोजर अभियानविरुद्ध अखिल नेपाल सुकुमवासी संघले आन्दोलन गर्ने


काठमाडौं- अखिल नेपाल सुकुमबासी संघले वैकल्पिक व्यवस्था बिना सुकुमबासी बस्ती हटाउने कार्य रोक्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले विभिन्न स्थानमा डोजर प्रयोग गरी सुकुमबासी बस्ती हटाउने प्रयासलाई “राज्य आतंक” को संज्ञा दिँदै यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेको हो।

संघका अनुसार आन्दोलनको पहिलो चरणमा भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई राज्यले गरेका विगतका वाचा स्मरण गराउँदै जबरजस्ती उठिबास रोक्न सरोकारवाला निकायहरूलाई आग्रह गरिनेछ।

दोस्रो चरणअन्तर्गत मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने, जनताको पक्षमा काम नगरेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।

संघका अध्यक्ष अमर परियारले वैकल्पिक व्यवस्था बिना नागरिकलाई हटाउने प्रयास भइरहेकाले आन्दोलन घोषणा गर्न बाध्य भएको बताए।

संघले शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए मेची–महाकाली राजमार्गसहित सुकुमबासी केन्द्रित देशव्यापी अनिश्चितकालीन आमहड्ताल गर्ने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया