त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास


काठमाडौं-  विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारी तयारीको विरोधमा संयुक्त विद्यार्थी आन्दोलनले त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।

विद्यार्थीहरूले घण्टाघरदेखि टीयू गेटसम्म मार्चपास गर्दै सरकारको निर्णयप्रति चर्को असन्तुष्टि जनाएका हुन्। उनीहरूले यस्तो कदम संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको आरोप लगाएका छन्।

आन्दोलनरत विद्यार्थीहरूले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन चेतावनीसमेत दिएका छन्। उनीहरूका अनुसार विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयासले शैक्षिक स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउनेछ।

विद्यार्थीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूलाई ‘ब्यारेकीकरण’ गर्ने अभ्यास अन्त्य गर्न तथा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न माग अघि सारेका छन्।

यस्तै, विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट यथावत् राख्न र प्रस्तावित प्रतिबन्धसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णयसमेत फिर्ता लिनुपर्ने उनीहरूको माग छ।

उक्त मागहरू अघि सार्दै विद्यार्थीहरूले मार्चपासमार्फत सरकारको कदमविरुद्ध आफ्नो असहमति प्रकट गरेका छन्।

प्रतिक्रिया