शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश


काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको छ।

गोल्छाका तर्फबाट उनकी पत्नी सीमाले सोमबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो। इजलासले पक्राउ र थुनाको कारण खुलाइएको लिखित जवाफसहित गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएको छ।

यसअघि गत बिहीबार पक्राउ परेका गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार नै प्रहरीलाई अनुमति दिएको थियो।

गोल्छा विवादास्पद सेयर कारोबार प्रकरणमा तानिएका हुन्। व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललगायतको समूहसँग मिलेमतोमा भएको भनिएको सेयर कारोबारबारे नेपाल धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका गोल्छाको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया