प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच अनौपचारिक सहमति, सक्रिय भयो सरकार–जसपा कार्यदल


काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार बालुवाटारमा भेट गरेका छन्। सो क्रममा उनले जसपाका मागका सन्दर्भमा भइरहेका सरकार पक्षका प्रगतिका विषयमा वार्ता गरेका छन्।

ओली सरकारको विकल्पमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धन बनाउने सहमति भइरहेका बेला उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलाई जानकारी नै नदिई ठाकुरले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी कार्यदलमा नयाँ अनौपचारिक खाकामा सहमति गरेका छन्।

जसपाले उठाएका माग सम्बोधन यथाशक्य चाँडो गर्ने सरकारको सक्रियता पाएपछि ठाकुरले प्रधानमन्त्री ओलीसँग भएका राजनीतिक सहमतिका विषयमा अनौपचारिक समझदारी गरेका छन्।

जसपाका सबै माग पूरा गराउनका लागि दुवै पक्षका कार्यदलको बैठक बसेको छ। सरकारका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्तामा जुटेका छन्।

कार्यदलले समझदारीको खाका तयार पार्नेछ। जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाई, जसपा कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ता र क्षतिपूर्तिको मागलाई अगाडि सारेको थियो। सरकारले तत्कालै जसपा कार्यकर्ताको मुद्दा फिर्ता तथा क्षतिपूर्ति दिने माग कार्यान्वयन गर्ने र चौधरीको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाउने सहमति जनाएको छ।

प्रतिक्रिया