द्रूतमार्ग सडक आयोजनासम्बन्धी लेख-रचना समेटिएको जर्नल प्रकाशित


काठमाडौं – नेपाली सेनाले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनासम्बन्धी लेख-रचनाको संग्रह (केटिएफटी जर्नल) प्रकाशन गरेको छ ।

राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुुग्ने राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको द्रुतमार्ग सडक आयोजनाको वस्तुस्थिति तथा गतिविधि समेटिएको उक्त जर्नलको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरेका हुन् ।

जर्नलमा सैनिक तथा गैरसैनिक व्यक्तिका कूल २० लेख समेटिएका छन् । त्यसमा ११ अनुसन्धानमूलक र नौ जानकारीमूलक रचना संग्रिहित छन् । कार्यक्रममा प्रधानसेनापति थापाले उत्कृष्ट तीन लेख-रचनाका लेखकलाई पुरस्कार प्रदान गरेका थिए ।

पदमकुमार आङ्बो, अनन्तसिंह भाट र गौरव भट्टराईका लेख क्रमशः प्रथम, दोस्रो र तृतीय भएका थिए । यस्तै विभिन्न अनुसन्धानात्मक तथा जानकारीमूलक लेख उपलब्ध गराउने लेखकलाई पनि प्रधानसेनापतिले कदरपत्रद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा द्रुतमार्ग आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले देशको राजधानी काठमाडौँ र तराई/मधेस जोड्ने देशकै पहिलो द्रूतमार्ग आयोजनाको बहुआयामिक महत्व र यसका विविध पाटाका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी लेख रचना प्रकाशन गरिएको बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको द्रुतमार्गको निर्माण कार्यको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन मुलुकको रक्षा तथा विकास निर्माणमा नेपाली सेनाले आफूलाई उभ्याउँदै आएको छ ।

सरकारले २०७४ सालमा राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्रिय गौरव एंव रणनीतिक महत्व बोकेको द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । कूल ७२.५ किलोमिटर लम्बाइको यस आयोजनाको भौतिक प्रगति १२.९ र वित्तीय प्रगति ९.५२ प्रतिशत रहेको सेनाले जनाएको छ ।

विभिन्न ११ क्लष्टरमा विभाजन गरी सेनाले द्रूतमार्ग निर्माणको काम गर्दै आइरहेको छ । आयोजनामा १०।५९ किलोमिटर पुल र ६.४९ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । आव २०८०/८१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया