लादेनसँग तीनपटक अन्तरवार्ता लिने पत्रकार रोबर्टको निधन
लण्डन(एजेन्सी)–ब्रिटिस र आइरिस मुलका प्रख्यात पत्रकार रोबर्ट फिस्कको हृदयघातका ७४ वर्षको उमेरमा निधन भएको छ । अस्वस्थ भएपछि डब्लिनको सेन्ट भिन्सेन्ट अस्पतालमा भर्ना भएका उनको त्यही निधन भएको हो ।
सन् १९७० देखि मध्यपूर्वी देशका समाचारहरुको रिपोर्टिङ गरेका उनले त्यही कामका कारण धेरै अवार्ड पनि जितेका थिए । तर उनी अमेरिका, इजरायल र पश्चिमको विदेश नीतिको आलोचना गरेका कारण विवादमा पनि तानिएका थिए । उनले बाल्कन, मध्यपूर्वी र उत्तर अफ्रिकामा भएका युद्धका समाचारहरु यूकेका समाचारपत्रहरुका लागि झन्डै पाँच दशकसम्म रिपोर्टिङ गरेका थिए । त्यहीकारण न्यूयोर्क टाइम्सले सन् २००५ मा उनलाई ‘सम्भवत ब्रिटेनको सर्वाधिक चर्चित परराष्ट्र संवाददाता’ भनी व्याख्या गरेको थियो ।
केन्टको मेडस्टोनमा सन् १९४६ मा जन्मिएका उनले पछि आइरिस नागरिकता लिए र राजधानी डब्लिन भन्दा बाहिर डाल्केमा घर बनाएर बसे । उनको निधन प्रति आइरिस राष्ट्रपति माइकल डी हिगिन्सले दुःख व्यक्त गरेका छन् । ‘विश्वको पत्रकारिता र मध्यपूर्वको सूचनाको संवाहकको निधनले हामीले एउटा राम्रो कमेन्टर गुमाएका छौं’, उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
सन्डे एक्सप्रेसबाट करियर शुरु गरेका उनी सन् १९७२ मा बेलफेस्ट गए । जहाँ उनले द टाइम्सका लागि नर्दन आयरल्याण्डको रिपोर्टरको रुपमा काम गरे । उनी सन् १९७६ मा द टाइम्सको मध्यपूर्वी संवाददाता थिए । लेबनानको राजधानीमा बेइरुतमा रहेर उनले देशको जनयुद्धसँगै इरानियन आन्दोलनको पनि रिपोर्टिङ गरेका थिए । यसबाहेक उनले अफगानिस्तानमा भएको सोभियत युछ र इरान–इराक युद्धको पनि रिपोर्टिङ गरेका थिए ।
द टाइम्सका मालिक रुपर्ट मुडरकसँगको खटपटपछि उनले सन् १९८९ मा पत्रिकाबाट राजीनामा दिए । त्यसपछि उनले बाँकी समयको पत्रकारिता द इण्डिपेन्डेन्टबाट गरे । सन् १९९० को दशकमा उनले अलकायदाका तत्कालीन प्रमुख ओसामा विन लादेनसँग पत्रिकाका लागि तीनपटक अन्तरवार्ता लिएका थिए । सन् १९९३ मा पहिलो अन्तरवार्ता लिएपछि उनले लादेनलाई ‘लजालु मान्छे’ र ‘हरेक इन्च पहाडी योद्धाको मुजाद्दिन’ भनी व्याख्या गरेका थिए ।
सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमला पछि फिस्कले त्यसपछिका दुई दशक मध्यपूर्वका अफगानिस्तान, इराक र सिरियाको युद्धको रिपोटिङ गरे ।