
नेपालमा ईभी आयात घट्यो, पेट्रोल गाडीको माग ५० प्रतिशतले बढ्यो
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा विद्युतीय गाडी (ईभी) को आयात घटेको छ भने पेट्रोलबाट चल्ने गाडीको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ।
भन्सार तथ्याङ्कअनुसार चालु वर्षको ९ महिनामा कुल ७ हजार १७३ युनिट विद्युतीय कार आयात भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा ७ हजार ९६७ युनिट ईभी आयात भएका थिए।
चालु वर्षमा ईभी आयातबाट सरकारले १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
आयात भएका विद्युतीय गाडीमध्ये ५० किलोवाटसम्मका २,५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४,०८३ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५७४ युनिट र २०१ किलोवाटभन्दा माथिका ८ युनिट रहेका छन्।
तर, यसै अवधिमा पेट्रोलबाट चल्ने गाडीको आयात भने बढेको छ। ९ महिनामा ४ हजार १४० युनिट पेट्रोल कार भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो। गत वर्ष चैतसम्म २ हजार ७४२ युनिट मात्र पेट्रोल कार आयात भएका थिए।
इन्धनमा निर्भर सवारी साधनको आयात बढ्दै जाँदा र ईभीको हिस्सा घट्दै जाँदा ऊर्जा खपत, व्यापार घाटा र वातावरणीय पक्षमा दीर्घकालीन प्रभाव पर्न सक्ने चिन्ता समेत बढेको छ।



कागजपत्र |
