रुरुको आइपीओ बाँडफाँड भोली, यसरी पाउने भए ७ जनाले ११ कित्ता शेयर


काठमाडौं — रुरु जलविद्युतले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार बाँडफाँट हुने भएको छ। रुरुको आइपीओ शुक्रबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट हुने एनएमबि क्यापिटलले जनाएको छ ।

सर्वसाधारणलाई छुट्याइएको ३ लाख ७९ हजार १६७ कित्ता शेयर न्यूनतम १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९ सय १६ जनालाई शेयर पर्ने देखिन्छ ती मध्ये ३७ हजार ९ सय ९ जनालाई १० कित्ता पर्दछ भने बाँकी ७ कित्ता भाग्यमानी ७ जनालाई बाँडफाँड गरिन्छ, र उनीहरू ७ जनाले ११/११ कित्ताका दरले शेयर पर्ने जनाइएको छ ।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा करिब १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो। यस अनुसार कम्पनीको आइपीओमा आवेदन दिने झण्डै ९८ प्रतिशत लगानीकर्ताको हात खालि हुने प्रारम्भिक तथ्यांकले देखाउँछ।

रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाई भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयर मात्रै वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया