बालेनप्रति स्वामी रामभद्राचार्यको टिप्पणी: ‘हिन्दूत्वप्रति पर्याप्त झुकाव छैन’


जनकपुर – विश्वप्रख्यात हिन्दू धर्मगुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहप्रति असन्तुष्टि जनाउँदै हिन्दूत्वप्रति पर्याप्त झुकाव नरहेको टिप्पणी गरेका छन् ।

आइतबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि आएका उनले प्रधानमन्त्री शाहको भारतप्रतिको दृष्टिकोण पनि सकारात्मक नभएको आरोप लगाए । उनले प्रधानमन्त्रीले भारतविरोधी सोच राख्न नहुने र हिन्दूत्वप्रति आकर्षण बढाउनुपर्ने सुझाव दिए ।

रामभद्राचार्यले बालेन अझै युवा रहेको र राजनीतिमा पूर्ण रूपमा परिपक्व नभइसकेको उल्लेख गर्दै विगतमा स्वर्गीय राजा वीरेन्द्रको पालामा प्रचलनमा रहेका परम्पराहरू पुनःस्थापित गर्न सके राम्रो हुने धारणा व्यक्त गरे ।

उनले नेपालमा धर्मान्तरण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई रोक्नुपर्ने बताए । साथै, राजसंस्था पुनःस्थापना हुनुपर्ने र नेपाल–भारत सहकार्यबाट शक्तिशाली राष्ट्र बन्न सकिने उनको भनाइ थियो । नेपाल सरकारले चाहेको खण्डमा हिन्दूराष्ट्र पुनःस्थापना सम्भव रहेको दाबी पनि उनले गरे ।

त्यस्तै, उनले नेपाल समृद्ध बन्ने कामना गर्दै कुनै पनि देशमा निर्भर नहुनुपर्ने धारणा राखे । विशेषगरी चीनप्रति निर्भरता नबढाउन उनले सुझाव दिए । रामभद्राचार्य हरेक वर्ष जनकपुरधाम आएर जानकी मन्दिर दर्शन गर्ने गर्दै आएका छन् । यहाँ आउँदा आफूलाई आफन्तको घरमा आएको जस्तो अनुभूति हुने उनले बताए ।

प्रतिक्रिया