उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा


काठमाडौं- काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले शुक्रबार विशेष अदालतमा सरकारी कागजात दुरुपयोग र गलत लिखत तयार पार्ने कसुरसमेत जोड्दै मुद्दा दायर गरेको हो। आयोगका अनुसार तिवारीले सरकारी/सार्वजनिक संस्थाका लिखत, लेटरप्याड र छापको दुरुपयोग गरी बदनियतपूर्वक प्रयोगमा ल्याएर भ्रष्टाचार गरेको आरोप लागेको छ।

उक्त मुद्दामा प्राधिकरणका तत्कालीन शाखा अधिकृत (करार) यामकुमार कार्कीलाई पनि सह–प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसार कसुर ठहर गर्दै सोही ऐनबमोजिम कैद तथा जरिवानाको माग गरिएको छ।

अख्तियारका अनुसार तिवारी र कार्कीबीच आपसी मिलेमतोमा कार्कीविरुद्ध भइरहेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानमा आय वृद्धि देखाएर अनुसन्धानकर्तालाई भ्रममा पार्ने उद्देश्य राखिएको थियो। त्यसका लागि सरकारी कागजातको दुरुपयोग गरी गलत लिखत तयार पारेर प्रयोगमा ल्याइएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ।

यसअघि पनि तिवारीविरुद्ध १० करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया