
धनगढीमा कुकुरको विषयमा भएको विवादपछि चौधरीको मृत्यु, हत्या आरोप
कैलाली- धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगर बुद्धमार्गमा कुकुरसँग सम्बन्धित विवादले उग्र रूप लिँदा ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएको छ। घटनापछि मृतकका परिवारले छिमेकी महेश श्रेष्ठले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् भने श्रेष्ठ पक्षले भने लडेर दुर्घटनावश मृत्यु भएको दाबी गरेको छ।
बैशाख २ गते चौधरीको घरमा रहेको कुकुरले श्रेष्ठको कुकुरलाई टोकेर मरेको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ। त्यसपछि श्रेष्ठले गएराति चौधरीलाई आफ्नो घरमा बोलाएर लगेको घटनाले विवाद थप चर्किएको हो।
मृतककी श्रीमती रुपा चौधरीका अनुसार करिब ९:३० बजे पहिलो पटक बोलाउन आएका श्रेष्ठले रिसाउँदै ‘खुनको बदला खुन लिन्छु’ भन्दै धम्की दिएका थिए। तर चौधरी नजाँदा राति करिब ११ बजे दोस्रो पटक आएर सुतेको अवस्थामा उनलाई घरबाट लगिएको उनको दाबी छ।
उनका अनुसार करिब सय मिटर टाढा रहेको श्रेष्ठको घरमा गएपछि केही समयमै परिवारले खोज्दा चौधरी सीढीको तल बेहोस अवस्थामा भेटिएका थिए। “भित्र पुग्दा उहाँ बेहोस हुनुहुन्थ्यो, शरीरमा चोटपटक देखिन्थ्यो र श्रेष्ठ परिवार पानी तथा बरफ हाल्दै थिए,” उनले भनिन्। उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको परिवारको भनाइ छ।
मृतककी छोरी रक्षा चौधरीले पनि कुटपिटपछि बुवा बेहोस अवस्थामा फेला परेको दाबी गर्दै हत्या भएको आरोप लगाइन्। उनका अनुसार अस्पतालमा पुर्याउँदा पनि चौधरीको मृत्यु भइसकेको थियो।
यता, आरोपित महेश श्रेष्ठकी आमा सुमित्रा श्रेष्ठ र परिवारका अन्य सदस्यले भने कुटपिट नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार चौधरी कुकुर हेर्न छतमा गएको र फर्किने क्रममा सीढीबाट लडेर घाइते भएका हुन्। लडेर बेहोस भएपछि मात्रै पानी र बरफ प्रयोग गरिएको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार चौधरी र श्रेष्ठको घर करिब सय मिटर दूरीमा एउटै टोलमा पर्छ। घटनासम्बन्धी थप अनुसन्धानमा स्थानीयले पनि कुकुर विवादबाट सुरु भएको भनिए पनि कुटपिट देखिएको भन्ने प्रत्यक्ष प्रमाण आफूहरूले नदेखेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले महेश श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। मृतक परिवारले भने किटानी जाहेरी दिने तयारी गरेको छ।
हाल शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण स्पष्ट हुने अपेक्षा गरिएको छ।



कागजपत्र |
