
अंश विवादले लियो सिर्जनाकाे ज्यान, भाञ्जा र उसका साथी पक्राउ
पोखरा- पोखराको सभागृहचोकमा हत्या गरिएकी सिर्जना पौडेल केसी पारिवारिक विवादकै कारण ज्यान गुमाउन पुगेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानले पारिवारिक कलहकै कारण हत्या भएको पुष्टि गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भाञ्जा नाता पर्ने २७ वर्षीय सन्तोष उर्फ शिशिर केसी र उनका साथी ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरेको छ। केसीलाई बुटवल–२ मनकामना टोलबाट पक्राउ गरिएको हो भने परियार पोखरा–१७ रातोपहिराका बासिन्दा हुन्।
प्रहरीका अनुसार घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा–७ मुस्ताङचोकबाट र धारिलो हतियार खुँडा पोखरा–१६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको छ।
अनुसन्धानमा केसीको आपराधिक पृष्ठभूमि समेत खुलेको छ। उनी यसअघि अभद्र व्यवहार तथा चोरी–डाँका मुद्दामा पटक–पटक पक्राउ परिसकेका थिए। त्यस्तै, परियार पनि लागुऔषध सम्बन्धी मुद्दामा विगतमा कारबाही भोगिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
मृतक सिर्जना पौडेल केसीले कास्की जिल्ला अदालतबाट बकसपत्र सम्बन्धी मुद्दा जितेर पतिको अंश भोग गरिरहेकी थिइन्। तर, उक्त सम्पत्ति फिर्ता गराउन पतितर्फका आफन्त सक्रिय रहेकाले विवाद चर्किएको प्रारम्भिक निष्कर्ष छ।
पोखरा–५ बसोबास गर्दै आएकी सिर्जनाको पृथ्वीचोकमा जुत्ता पसल थियो। करिब चार वर्षअघि उनले कृष्ण केसीसँग विवाह गरेकी थिइन्। कृष्णकी पहिलो पत्नीले आत्महत्या गरेपछि सिर्जनासँग विवाह भएको थियो। उनीहरूबाट एक छोरी जन्मिएकी छन्, जसको उमेर हाल तीन वर्ष रहेको छ।
कृष्ण केसीको दुई वर्षअघि निधन भएपछि पारिवारिक अंश विवाद अझ चर्किएको बताइएको छ। कृष्णको पहिलो पत्नीबाट जन्मेका छोरा भने लागुऔषध मुद्दामा कारागारमा कैद भोगिरहेका छन्।
पक्राउ परेका दुवैजनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। उक्त कसुरमा दोषी ठहरिए जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।



कागजपत्र |
