सेनाका नवअधिकृतलाई राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह


काठमाडौं-  प्रधानमन्त्री बान्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गरेकोमा बधाइ पनि दिएका थिए ।

प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर जिम्मेवारी निर्वाह गर्न, सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनको दायराभित्र रही सधैं कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सक्षम हुने विश्वास पनि व्यक्त गरे ।

समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गरी पुरस्कृत गरेका थिए । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया