
कक्षा ८ को परीक्षामा नतिजा शून्य आएपछि मागियाे प्रअको राजीनामा
सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा वडा–१४ स्थित डडुवा भवानीशंकर माध्यमिक विद्यालयले शून्य नतिजा ल्याएको छ । विद्यालयबाट ३२ जना विद्यार्थी सहभागी भए पनि सबै अनुत्तीर्ण भएपछि नतिजा शून्य आएको नगर शिक्षा शाखाले जनाएको छ ।
नतिजाप्रति स्थानीय अभिभावक तथा जनप्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै विद्यालय प्रशासनमाथि प्रश्न उठाएका छन् । अभिभावकहरूले प्रधानाध्यापकको राजीनामा माग गर्दै पहिलो चरणको आन्दोलन घोषणा गरेका छन् । उनीहरूले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीलाई पनि जिम्मेवारी लिनुपर्ने भन्दै माफीसहित राजीनामा दिनुपर्ने माग गरेका छन् ।
अभिभावकहरूको मागअनुसार विद्यालय सुधारका लागि सरोकारवालाहरूको भेला चैत २८ गते आह्वान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकृष्ण नेपालले भने चैत २९ गते सबै सरोकारवालाको बीचमा राजीनामा दिने घोषणा गरेका छन् ।
वडा अध्यक्ष उद्धव नेपालले विद्यालयको कमजोर नतिजामा राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरी कारण रहेको आरोप लगाएका छन् । स्थानीय अभिभावकहरूले शिक्षक नियुक्ति र व्यवस्थापनमा सुधार नगरेसम्म विद्यालयको अवस्था सुधार नहुने बताएका छन् ।



कागजपत्र |
