क्रियाशील सदस्यता खारेज निर्णयमाथि केदार कार्कीको प्रश्न: ‘सबैको खारेजीपछि सभापति को?’


विराटनगर – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टीभित्र गरिएको क्रियाशील सदस्यता खारेजीको निर्णयमाथि गम्भीर प्रश्न उठाएका छन्।

उनले यस्तो निर्णयले पार्टीको वैधानिकता र नेतृत्वकै नैतिकतामाथि प्रश्न खडा गरेको बताएका छन्।

कार्कीले प्रश्न गर्दै भने, ‘सबै क्रियाशील खारेज गरेपछि तपाईं सभापति हुनुहुन्छ कि हुनुहुन्न? कि तपाईं र तपाईंको समितिका दास र लास बाहेक सबैको खारेज भएको हो?’

उनले क्रियाशील सदस्यता खारेज गर्ने अधिकार जिल्ला वा केन्द्रीय समितिको नभई महासमिति वा विधानसम्मत निकायको हुनुपर्ने धारणा व्यक्त गरे। ‘यस्तो निर्णय गर्ने अधिकार महासमितिलाई होला नि? मेरो क्रियाशील के कारणले खारेज भयो?’ भन्दै उनले पार्टी नेतृत्वसँग स्पष्ट जवाफ माग गरेका छन्।

कार्कीको यो अभिव्यक्तिले कांग्रेसभित्र बढ्दो आन्तरिक असन्तुष्टि र संगठनात्मक विवादलाई थप चर्काउने संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा छ।

कोशी प्रदेशको राजनीतिमा प्रभावशाली आवाज मानिने कार्कीले यसअघि पनि नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनी २०२३ अक्टोबरदेखि २०२४ मेसम्म कोशी प्रदेशका मुख्यमन्त्री रहेका थिए।

प्रतिक्रिया