
अमिशा पराजुलीलाई अपशब्द लेख्ने रौतहटका युवक पक्राउ
काठमाडौं– अमिशा पराजुलीलाई लक्षित गरी सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–२ का २४ वर्षीय अभिषेक चौधरी रहेका छन्। उनले अमिशामाथि अपशब्द लेखेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चौधरीलाई शनिबार नियन्त्रणमा लिइएको हो।
अमिशा पराजुली नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले गरेको विरोध कार्यक्रममा सहभागी भएकी थिइन्। त्यस क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको विरोध गरेकी थिइन्।
उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीमाथि धम्कीपूर्ण तथा अपशब्दयुक्त टिप्पणीहरू व्यापक रूपमा फैलिएका थिए। त्यसपछि अमिशाले आफू डिजिटल यौनहिंसाको सिकार भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
उनको उजुरीपछि साइबर ब्यूरोले अपशब्द प्रयोग गर्ने तथा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी राखेको जनाएको छ।



कागजपत्र |
