शैक्षिक सत्र अघि भर्ना र शुल्क असुली नगर्न निजी विद्यालयलाई मन्त्रालयको चेतावनी


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र मनपरी शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई सचेत गराएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको छ। निर्देशनको अवज्ञा भएमा कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

हालैको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। सोहीअनुसार शैक्षिक सत्र सुरु हुनुअघि भर्ना नलिन सर्वोच्च अदालतले पनि आदेश दिएको थियो।

मन्त्रालयका अनुसार केही निजी विद्यालयहरूले शिक्षा नियमावली तथा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेभन्दा बाहिरका शीर्षकमा शुल्क असुल गरिरहेको पाइएको छ। यस्ता गतिविधि तत्काल रोक्न र लिइएको भर्ना शुल्क फिर्ता गर्न निर्देशन दिइएको छ।

साथै, गैरकानुनी कार्य हुन नदिन सम्बन्धित स्थानीय तहहरूलाई पनि आवश्यक निगरानी र नियन्त्रण गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया