
छोरासँगै एसइई दिँदै वडाध्यक्ष केसी
सल्यान — सल्यानको दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसी २० वर्षपछि पुनः अध्ययनमा फर्किएका छन् । उनी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका छन् ।
४० वर्षको उमेरमा उनले दार्माकोटस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट यस वर्षको एसइईमा सहभागी भएका हुन् ।
२०६२ सालमा कक्षा १० सम्म अध्ययन गरेका केसीले पारिवारिक समस्या र जिम्मेवारीका कारण पढाइ बिचमै छोड्नु परेको थियो तर अध्ययनप्रतिको चाहना भने निरन्तर रहँदै आएको उनी बताउँछन् । “पढ्ने इच्छा सधैँ थियो तर परिस्थितिले साथ दिएन,” उनले भने, “अहिले फेरि हिम्मत गरेर विद्यालय भर्ना भएँ र एसइई दिइरहेको छु ।”
परीक्षामा सहभागी हुन पाउँदा आफूलाई ठुलो उपलब्धि जस्तो लागेको उनको भनाइ छ । उनका आफ्नै छोरा– भतिजासमेत सोही केन्द्रबाट परीक्षा दिइरहेका छन्, जसले उनलाई थप जिम्मेवार बनाएको छ ।
परीक्षा अनुभव सन्तोषजनक रहेको बताउँदै उनले “पढाइ उमेरले होइन, इच्छाले हुन्छ” भन्ने महसुस भएको बताए । एसइईपछि पनि अध्ययनलाई निरन्तरता दिने योजना उनको छ ।



कागजपत्र |
