नागार्जुनबाट ठूलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ


काठमाडौं-  नागार्जुन नगरपालिका–३ स्थित सिता बाल विकास माध्यमिक विद्यालय नजिकै डेरा गरी बस्दै आएका एक युवकलाई प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ गरेको छ ।

बुधबार साँझ करिब ६ बजे लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोटको ककनी गाउँपालिका–५ हिले घर भएका २४ वर्षीय सुनिल चिम्से भनिने सुनिल गोलेलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको डेरा कोठामा खानतलासी गर्दा ट्रामाडोल ४ हजार ६८० क्याप्सुल, नाइट्राजेपाम १४५ ट्याब्लेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल र नुर्फिन ५८ एम्पुल बरामद गरेको जनाएको छ ।

यसका साथै विभिन्न कम्पनीका ३ थान मोबाइल र नगद १७ हजार ३०० रुपैयाँ पनि बरामद गरिएको छ ।

पक्राउ परेका गोलेलाई नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया