सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन


काठमाडौं-  प्रतिनिधिसभा सदस्य महावीर पुनले आफू राजनीतिज्ञभन्दा समाजसेवीको रूपमा काम गर्ने बताएका छन् । बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो भूमिका पक्ष वा विपक्षमा सीमित नभई निष्पक्ष रहने स्पष्ट पारे ।

स्वतन्त्र सांसद पुनले आफूलाई “फरक प्रकारको सांसद”का रूपमा प्रस्तुत गर्दै बोल्ने र काम गर्ने शैली पनि फरक हुने बताए । “म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु,” उनले भने, “म यो ठाउँमा आउनै पर्ने मान्छे हैन ।”

उनले आफू मूलतः राजनीतिमा नआउने सोच भए पनि परिस्थितिवश चुनाव लडेको बताए । जेन–जी आन्दोलनपछि आफूलाई पुस्तक बेच्दै गरेको अवस्थाबाट शिक्षामन्त्री बनाइएको उल्लेख गर्दै उनले शिक्षा सुधारका लागि प्रयास गरेको स्मरण गरे ।

पुनका अनुसार शिक्षा क्षेत्रमा सुधार ल्याउन नियमावली र अध्यादेशमार्फत काम अघि बढाउन खोज्दा अपेक्षित सहयोग नपाएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि नै चुनावी मैदानमा होमिएको उनले बताए ।

उनले संसदमा आफ्नो भूमिका निष्पक्ष, परिणाममुखी र समाज केन्द्रित रहने बताउँदै विकास र सुधारका एजेन्डामा केन्द्रित रहने संकेत गरेका छन् ।

प्रतिक्रिया