३५ हजार बढी ट्रामाडोलसहित चार जना पक्राउ


काठमाडौं- प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणमा ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका ३५ वर्षीय सुरेश तामाङ, दोलखाको भीमेश्वर–६ का २२ वर्षीय सञ्जीव घिसिङ, धनुषाका २२ वर्षीय सुरेन्द्रकुमार रौनियार र काभ्रेको रोशी गाउँपालिका–९ का २३ वर्षीय रोहित राना मगर रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार उनीहरूको साथबाट कुल ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ । अनुसन्धानका क्रममा चैत १७ गते सुरेश तामाङलाई प्रारम्भिक रूपमा पक्राउ गरिएको थियो, जसको साथबाट ३१ हजार ८०० क्याप्सुल ट्रामाडोल फेला परेको थियो ।

उनकै बयानका आधारमा पक्राउ परेका सञ्जीव घिसिङको साथबाट थप १ हजार ९९६ क्याप्सुल बरामद भएको थियो । त्यसपछि उनीहरूको सम्पर्कमा रहेका सुरेन्द्रकुमार रौनियार र रोहित राना मगरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रोहित राना मगर र सुरेश तामाङ यसअघि भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट भागेका थिए । ट्रामाडोल कारोबार मुद्दामै जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनीहरू त्यतिबेला फरार भएका थिए । फरार रहेका उनीहरू पुनः ठूलो परिमाणको ट्रामाडोलसहित पक्राउ परेका एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया