
चैत १९ गते संसद्को अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय
काठमाडौं- सरकारले संघीय संसद्को आगामी अधिवेशन चैत १९ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन चैत १९ गतेका लागि बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को उक्त निर्णयबारे जानकारी दिएका हुन् ।
यस्तै सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । ‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने ।
उनका अनुसार, राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुनेछ ।



कागजपत्र |
