
ओलीको उपचार प्रभावकारी बनाउन अदालतको आदेश
काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आवश्यक उपचारको व्यवस्था गर्न निर्देशन दिएको हो।
अदालतको आदेशमा ओली अस्वस्थ भई अस्पतालमा उपचाररत रहेको उल्लेख गर्दै उनको प्रभावकारी उपचार सुनिश्चित गर्न भनिएको छ। पक्राउपछि अस्पताल भर्ना भएका ओली बिरामी अवस्थाकै कारण इजलासमा भर्चुअल रूपमा उपस्थित भएका थिए।
ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेको थियो। सोही आधारमा उनीमाथि अनुसन्धान भइरहेको छ।



कागजपत्र |
