रुपन्देहीमा कैंचीले हानेर वृद्धाको हत्या, १५ वर्षीय किशोर पक्राउ


रुपन्देही – रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि किशोरले कैची प्रहार गरी हत्या गरेका थिए।

पक्राउ परेका किशोर मृतककै छिमेकी हुन्। किशोरले लागुऔषध किन्न पैसा अभाव हुँदा चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र विवादका क्रममा हत्या गरेको बयान दिएका छन्।

प्रहरीका अनुसार किशोरले मध्यरातमा मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध प्रहार गरेका थिए। घटनापछि फरार रहेका किशोरलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो।

जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान जारी छ।

 

प्रतिक्रिया