राजेश हमालको नाममा भ्रष्टाचार: १२ लाखभन्दा बढी हिनामिना


काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानायक राजेश हमालको नाम दुरुपयोग गरी गरिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। चलचित्र निर्माण गर्ने बहानामा हमालको तस्वीर प्रयोग गरी अछामको एक स्थानीय तहबाट १२ लाखभन्दा बढी रकम गैरकानुनी रूपमा भुक्तानी गरिएको खुलेको हो।

अनुसन्धानका क्रममा वृत्तचित्र निर्माणका नाममा कुल १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। उक्त प्रकरणमा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

यसैगरी, आर.जे. ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार, राजेश हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। तर सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लङ्घन गर्दै सोझै खरिद सम्झौता गरिएको, प्रतिस्पर्धा नगराई काम दिइएको र कानुनी सीमा नाघेर ३५ प्रतिशतसम्म पेस्की भुक्तानी गरिएको पाइएको छ। अझ बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको तथ्य बाहिरिएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, पेश गरिएका बिलहरू शंकास्पद तथा नक्कली देखिएको छ। वास्तविक काम नै नगरी सरकारी रकम हिनामिना गर्न मिलेमतोमा योजनाबद्ध रूपमा भ्रष्टाचार गरिएको ठहर गरिएको छ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदले आफ्नो पदको दुरुपयोग गर्दै आफू र अन्यलाई लाभ पुर्‍याउने नियतले यस्तो कार्य गरेको भन्दै उनीमाथि थप सजायको समेत माग गरिएको छ।

प्रतिक्रिया