पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते


काठमाडौं-  पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय अधिकारी र उद्धार कर्मचारीहरूका अनुसार भारी वर्षाले सहरका पूर्वाधारमा प्रहार गरे पछि सहरका धेरै क्षेत्रहरूबाट हताहत भएको रिपोर्ट गरिएको छ ।

देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा वर्षका कारण पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् ।

कायद आबाद क्षेत्रमा घरको छत खसेपछि एक दम्पती र सहरका विभिन्न क्षेत्रमा अन्य छ जनाको मृत्यु भएको जनाइएको छ ।

कराचीका मेयर मुर्तजा वहाबले सहरमा हाल तीव्र हावासहित भारी वर्षा भइरहेको जानकारी दिदै बासिन्दाहरूलाई अनावश्यक आवागमनबाट टाढा रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया