
स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ९ अर्बले घट्यो
काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ अघिल्लो वर्षको तुलनामा झण्डै ९ अर्ब रुपैयाँले घटाइएको छ।
अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई ४३ अर्ब २३ करोड १८ लाख रुपैयाँको सीमाभित्र रही योजना तथा कार्यक्रम तर्जुमा गर्न सिलिङ पठाएको हो। गत वर्ष भने ५२ अर्ब ५२ करोड रुपैयाँको सिलिङ तोकिएको थियो, जसमा पछि १३ अर्ब थपिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षको सिलिङमध्ये चालु खर्चतर्फ ३१ अर्ब ९३ करोड ७८ लाख रुपैयाँ र पुँजीगततर्फ ११ अर्ब ३२ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेट स्रोत व्यवस्थापनतर्फ नेपाल सरकारबाट ३७ अर्ब २८ करोड ९९ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ र वैदेशिक ऋणबाट २ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ रहने उल्लेख गरिएको छ। अघिल्लो वर्ष भने सरकारको ३८ अर्ब ७६ करोड ८ लाख, वैदेशिक अनुदान ६ अर्ब २० करोड र वैदेशिक ऋण ७ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।
हाल संघीय स्वास्थ्य मन्त्रालयका लागि मात्र बजेट सिलिङ पठाइएको छ भने प्रदेश र स्थानीय तहका लागि भने अझै सिलिङ निर्धारण भएको छैन।
चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहसमेत गरी स्वास्थ्य क्षेत्रमा ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
यसैबीच, कुल बजेट सिलिङमध्ये १२ अर्ब रुपैयाँ स्वास्थ्य बीमा कार्यक्रमका लागि छुट्याइएको छ, जुन अघिल्लो वर्षको १० अर्बभन्दा बढी हो।
तर स्वास्थ्य बीमा कार्यक्रमका लागि पर्याप्त रकम अभाव हुँदा धेरै स्वास्थ्य संस्थाले समयमै शोधभर्ना पाउन सकेका छैनन्। यसका कारण केही सरकारी ठूला अस्पतालहरूले सेवा सञ्चालनमा कठिनाइ भोग्दै कार्यक्रमसमेत स्थगित गर्नुपरेको अवस्था रहेको छ।



कागजपत्र |
