यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै


काठमाडौं-  नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेसल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ ।

निगमले मंगलबार एक उडान सूचना प्रकाशन गर्दै बुधबार राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने र दुबईबाट काठमाडौं आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने जनाएको छ । दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौं) वाइडबडी बिहीबार बिहान ४ः१० बजे काठमाडौं फर्किने तालिकामा उल्लेख गरिएको छ ।

अमेरिका–इरान युद्ध सुरु भएपछि रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताए । उनका अनुसार, ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्तयाका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उनले आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिए ।

खासगरी दुबईमा उद्धारको पर्खाइमा बसेका यात्रुलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गरे ।

उनका अनुसार, आरए २२९ (काठमाडौं–दुबई) बुधबार राति ११ः१५ बजे र आरए २३० (दुबई–काठमाडौं) बिहीबार बिहान ४ः१० बजे स्वदेशका लागि उडान भर्ने तालिका छ । गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् । निगमबाट टिकट पुनः प्रमाणित गराई यात्रा गर्न सूचनामार्फत निगमले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया