टिकटकमा खुकुरी देखाउँदै भिडियो बनाउने तीनजना पक्राउ


सुर्खेत- टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गरी सार्वजनिक शान्ति खलल पुर्‍याएको आरोपमा सुर्खेत प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० एयरपोर्टमा बस्दै आएका १८ वर्षीय सुरेन्द्र शाही रहेका छन् । यस्तै, दैलेख स्थायी घर भई एयरपोर्ट क्षेत्रमा बसोबास गर्दै आएका कक्षा १२ मा अध्ययनरत १९ वर्षीय असिम सावद र दैलेखकै स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा बस्ने कक्षा १२ का विद्यार्थी १८ वर्षीय प्रकाश सुनार पनि पक्राउ परेका छन् ।

खुकुरी देखाउँदै सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गरी समाजमा त्रास र सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापा ले जानकारी दिए ।

उनका अनुसार, पक्राउ परेका तीनै जनामाथि सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया