
नेपालका २८ अन्तर्राष्ट्रिय उडान अवरुद्ध, ४ हजारभन्दा बढी यात्रु प्रभावित
काठमाडौं- मध्यपूर्व क्षेत्रमा जारी अमेरिका र इजरायल–इरानबीचको द्वन्द्वका कारण नेपाल आउने–जाने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । हालसम्म २८ वटा उडान अवरुद्ध हुँदा करिब ४ हजार ६ सय यात्रु समस्यामा परेका छन् ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का अनुसार शनिबार (फागुन १६) एकैदिन १८ उडान रोकिएका थिए । त्यसको भोलिपल्ट आइतबार दिउँसो १२ः२० बजेसम्म थप १० उडान अवरुद्ध भएसँगै प्रभावित उडानको संख्या २८ पुगेको हो ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार शनिबार विभिन्न एयरलाइन्सका १८ उडान रोकिँदा करिब ३ हजार यात्रु प्रभावित भएका थिए । नेपाल वायुसेवा निगमका काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई गन्तव्यका तीन उडान रोकिँदा करिब ५०० यात्रु प्रभावित भए ।
यस्तै, कतार एयरवेजका चार उडान अवरुद्ध हुँदा करिब ८०० यात्रु समस्यामा परेका छन् । फ्लाई दुबईका चार उडान रोकिँदा करिब ६०० यात्रु प्रभावित भएका छन् । एयर अरेबियाका शारजाहका लागि तय भएका दुई उडान रोकिँदा करिब ३०० यात्रु प्रभावित भएका छन् ।
हिमालय एयरलाइन्सका दमाम, दोहा र दुबई गन्तव्यका तीन उडान अवरुद्ध हुँदा करिब ५०० यात्रु प्रभावित भएका भुलले जानकारी दिए । कुवेत एयरवेजका दुई उडान स्थगित हुँदा करिब ३०० यात्रु समस्यामा परेका छन् ।
क्यानका अनुसार आइतबार दिउँसो १२ः२० बजेसम्म मध्यपूर्व क्षेत्रमा लागू गरिएको हवाईमार्ग प्रतिबन्धका कारण थप १० उडान प्रभावित भएका छन्, जसका कारण करिब १ हजार ६ सय यात्रु समस्यामा परेका छन् ।
जजिरा एयरवेजका दुई उडान रोकिँदा करिब २५० यात्रु प्रभावित भएका छन् । एयर अरेबियाका शारजाह र अबुधाबीबाट आउने–जाने गरी चार उडान अवरुद्ध हुँदा करिब ५८० यात्रु समस्यामा परेका छन् ।
कतार एयरवेजका दोहाबाट आउने र जाने दुई उडान रोकिँदा करिब ४५० यात्रु प्रभावित भएका छन् । यस्तै, फ्लाई दुबईका दुबईबाट आउने–जाने दुई उडान अवरुद्ध हुँदा करिब ३२० यात्रु समस्यामा परेका विमानस्थल कार्यालयले जनाएको छ ।
क्यानका सूचना अधिकारी भुलका अनुसार क्षेत्रीय सुरक्षा अवस्था र हवाईमार्गमा देखिएको जोखिमका कारण उडान तालिकामा असर परेको हो । प्रभावित यात्रुको व्यवस्थापन र वैकल्पिक उडानबारे जानकारी दिन सम्बन्धित विमान कम्पनीहरू सक्रिय रहेको क्यानले जनाएको छ ।



कागजपत्र |
