निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह


काठमाडौं-  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः सबै पक्षलाई आग्रह गरेका छन्।

शुक्रबार कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा निर्वाचन सुरक्षा सम्बन्धी छलफलमा सहभागी भएर विराटनगर पुगेका भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरू फागुन २० भित्र टुङ्ग्याइने जानकारी दिएका छन्।

उनका अनुसार, निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरूको अन्तिम निर्णय गरिनेछ। हालसम्म आचारसंहिता उल्लंघनसम्बन्धी करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको छ भने केही प्रकरणमा सजायमुखी निर्णय पनि गरिएको छ। उनले भने, “आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता हुने छैन। त्यसका लागि अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइएको छ।”

यसैबीच, बीबीसीले प्रसारण गरेको डकुमेन्ट्रीबारे सोधिएको प्रश्नमा भण्डारीले उक्त विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए।

भण्डारीले सबै पक्षलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गर्दै स्वच्छ र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सहयोग गर्न अपिल समेत गरे।

प्रतिक्रिया