समाजसेवी लामाको सहयोगमा विद्यालय भवनमा रंगरोगन

देखियो चिटिक्क सरस्वती प्रा.वि.


काभ्रे – रोशी गाउँपालिका–३ भदौरे, काभ्रेपलाञ्चोकस्थित श्री सरस्वती प्राथमिक विद्यालय नयाँ स्वरूपमा देखिन थालेको छ।

स्थानीय समाजसेवी, व्यवसायी तथा युवा नेता सूर्यबहादुर लामाको आर्थिक सहयोगमा विद्यालय भवनको रंगरोगन सम्पन्न भएपछि विद्यालय परिसर आकर्षक र चिटिक्क बनेको हो।

लामो समयदेखि रंगरोगन नहुँदा विद्यालय भवन फिक्का र जीर्ण देखिँदै आएको थियो।

विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप सहज, सुरक्षित र मनोवैज्ञानिक रूपमा उत्साहजनक बनाउने उद्देश्यले सूर्यबहादुर लामाले आफ्नै पहलमा आर्थिक सहयोग प्रदान गरेका हुन्। उनको सहयोगपछि विद्यालयका कक्षा कोठा, बाहिरी पर्खाल तथा संरचनामा नयाँ रंग लगाइएपछि विद्यालयको मुहार नै फेरिएको छ।

स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले यस कदमको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा निजी पहलको यस्तो सहयोग उदाहरणीय रहेको बताएका छन्। विद्यालय व्यवस्थापन समितिले पनि समाजप्रति उत्तरदायी भावना राख्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकोमा लामाप्रति आभार व्यक्त गरेको छ।

स्थानीय तहमा शिक्षा पूर्वाधार सुधारका लागि सरकारी बजेट मात्रै पर्याप्त नहुने अवस्थामा यस्ता समाजसेवीहरूको साथले सामुदायिक विद्यालयहरूलाई ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ। विद्यालय सुन्दर र व्यवस्थित बनेसँगै विद्यार्थीहरूको उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया