निर्वाचनका दिन पर्यटक सवारी चलाउन दुई दिनअघि अनुमति अनिवार्य


काठमाडौं-  प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमन सहज बनाउन विशेष व्यवस्था गरिएको छ। निर्वाचन आयोगले पर्यटकका लागि सवारी साधन सञ्चालन गर्न कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने प्रावधान लागू गरेको हो।

निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनका दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान नरोकिने भएकाले पर्यटक आवागमनका सवारी साधनलाई अनुमति लिएर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, काठमाडौं उपत्यकाभित्रका सवारी साधनका लागि निर्वाचन आयोगबाट र उपत्यका बाहिरका हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट निर्वाचनको कम्तीमा दुई दिनअघि अनुमति लिएपछि पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिनेछ।

कार्यविधिमा निर्वाचनका दिन राजमार्गमा चल्नुपर्ने सवारी साधनको आवागमनलाई व्यवस्थित बनाउने प्रावधान पनि समावेश गरिएको छ। यसबाट निर्वाचन सुरक्षासँगै यात्रु र पर्यटकको आवतजावत व्यवस्थापन गर्ने उद्देश्य राखिएको आयोगको भनाइ छ।

त्यसैगरी, अत्यावश्यक सेवा, कूटनीतिक नियोग र मानव अधिकार आयोगबाहेकका अन्य सवारी साधनले पनि कार्यविधिअनुसार अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया