
यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
काठमाडौं- सरकारले १६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले यसबारे जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा पनि स्वीकृत गरेको छ। ऊर्जा क्षेत्रका ठूला परियोजनाको कार्यान्वयनलाई गति दिन उक्त निर्णय महत्वपूर्ण मानिएको छ।
त्यसैगरी, केरावारी (न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला) जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न तथा आवश्यक रुख हटाउन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
यस्ता छन् निर्णयहरू–
१. १६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने
२. नेपाललाई ‘ओइसिडी ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पस’को सदस्यता लिन स्वीकृत प्रदान गर्ने ।
३. प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित चार मिलियन अमेरिकी डलरबराबरको नगद अनुदान सहायता स्वीकार गर्ने ।
४. चालू आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।
५. बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने ।
६. न्यायसेवा आयोगको सिफारिसबमोजिम दुईजना उपसचिवलाई न्यायसेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने ।
७. विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।
८. निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहाेर्ने साथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने ।
९. प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।
१०. हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने माेस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस अम्पायर उपाधि ग्रहण गर्न स्वीकृत प्रदान गर्ने ।
११. नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गठित यातायात क्षेत्रसम्बन्धी सर्वाेच्च अदालतका आदेशहरू कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने ।
१२. २०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई स्वीकृत दिने।
१३. २०८२ फागुन १८ र १९ गते भारतमा हुने रायसिना फोरममा भाग लिन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृत दिने ।
१४. बंगलादेशका नवनिर्वाचित प्रधानन्त्री तारिक रहमानको शपथ समारोहमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमण समर्थन गर्ने ।
१५. चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकीदेखि वसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने ।
१६. नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्मका लागि निरन्तरता दिने र सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाँधा अड्काउ फुकाउन आदेश जारी गर्ने ।
१७. न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लू)को ७०औँ सम्मेलनमा २०८२ फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने ।
१८. २०८२ फागुन १ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उचित समयमा आयोजना गर्ने ।
१९. नेपाली सेनाका दुईजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र दुईजना महासेनानीको सरुवा गर्ने ।
२०. केराबारी न्यु मर्स्याङ्दी दरौँदी करिडोर १३२ केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख, पोल हटाउन स्वीकृति दिने ।
२१. माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख, पोल हटाउन स्वीकृत दिने ।
२२. सेतीखोला जलविद्युत् आयोजनाको १३२ केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख, पोल हटाउन स्वीकृत दिने ।
२३. जेन–जी परिषद् गठन गर्ने।
२४. नेपाल सरकारका सचिवहरू डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उनीहरूले हालसम्म पुर्याउनुभएको योगदानका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने।
२५. नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका ६ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।



कागजपत्र |
