जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा


काठमाडौं-  सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ।

वन तथा वातावरण मन्त्रालय ले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेललाई कृषि क्षेत्रमा क्षति पुर्‍याउने वन्यजन्तुको सूचीमा राखेको हो।

कृषि हानिकारक वन्यजन्तु घोषणा भएसँगै जंगली बँदेलले निजी खेत, खला वा बारीमा प्रवेश गरी क्षति पुर्‍याउने अवस्था आएमा तोकिएका सर्तको अधीनमा रही किसानले विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न पाउने व्यवस्था गरिएको छ।

तर, मन्त्रालयका अनुसार यो व्यवस्थाले सानो जातको बँदेललाई भने समेट्दैन। जङ्गली बँदेलले किसानको खेतबारीमा प्रवेश गरी बालीनाली वा धनजनमा क्षति पुर्‍याएमा किसानले तत्काल धपाउन, लखेट्न वा पक्रन सक्नेछन्।

पक्रिएको बँदेललाई सम्बन्धित राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष वा वन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सो क्रममा बँदेलको ज्यान गएमा वडाका एक जना प्रतिनिधि र पाँच जना स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्नुपर्नेछ।

तौलको आधारमा मूल्य तोकी सो रकम राजस्व खातामा दाखिला गरी वडाभित्र व्यापारिक प्रयोजनबाहेक प्रयोग गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। यससम्बन्धी सम्पूर्ण विवरण सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र तोकिएको निकायले अभिलेख राख्नुपर्नेछ।

यद्यपि, राष्ट्रिय निकुञ्ज, आरक्षण तथा वन क्षेत्रमा प्रवेश गरी जंगली बँदेललाई मार्न, पक्रन वा लखेट्न भने निषेध गरिएको छ।

प्रतिक्रिया