
मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी
काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सकिएको २४ घण्टाभित्र सार्वजनिक हुने भएको छ।
निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने तयारी भइरहेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले यसपटक प्रत्यक्षतर्फको निर्वाचन भएकाले परिणाम आउन समय नलाग्ने बताए।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार समानुपातिक मतपरिणामको गणना एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको मतपेटिका संकलन भएको २४ घण्टाभित्र घोषणा हुने योजना आयोगले बनाएको छ।
उनले उपत्यकाबाहिर मतपत्र पठाउने काम सकिएको र काठमाडौं, ललितपुर तथा भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म पुर्याइसक्ने तयारी भएको जानकारी दिए। मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामग्री लिएर सम्बन्धित मतदान केन्द्रमा खटिने व्यवस्था गरिएको छ।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको पनि उनले बताए। मतपत्र छपाइदेखि ढुवानीसम्मको व्यवस्थापकीय काम पूरा भइसकेको छ भने कर्मचारीहरू कार्यक्षेत्रमा खटिन सुरु भइसकेको छ।
हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्न आयोगले निर्णय लिन बाँकी रहेको र भौगोलिक विकटता तथा मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नगर्ने गरी तत्काल निर्णय गरिने तयारी रहेको प्रमुख आयुक्त भण्डारीले स्पष्ट पार्नुभयो। “यदि त्यस्तो अवस्था आयो भने हामी जहाँ मतदाताहरू हुनुहुन्छ त्यहीँ गएर मत संकलन गर्ने गरी निर्णय गर्छौँ,” उनले भने।
आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउन नहुने र राजनीतिक दलहरूले निषेधको राजनीति नगर्न चेतावनीसमेत दिएका छन्। “कसैले कसैलाई निषेधको राजनीति गर्न पाइँदैन। स्वच्छ प्रतिस्पर्धाबाट मात्रै असल नेतृत्व चयन हुन्छ,” उनले थपे।
मतदान यही २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने कार्यतालिका तय छ।



कागजपत्र |
