रोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १२ घाइते


रोल्पा – रोल्पामा मंगलबार बिहान जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय होलेरी, रोल्पाका वरिष्ठ सई ताराबहादुर छहरीका अनुसार दुर्घटनामा परी अन्दाजी ४५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबै १२ जनालाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

मंगलबार बिहान करिब सवा ९ बजे रून्टीगढी गाउँपालिका–५ खुम्बासमा लु १ ज ४८५४ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनास्थल दाङ र रोल्पाको सिमानामा पर्दछ।

प्रहरीका अनुसार दाङको घोराहीबाट शहिद मार्ग हुँदै होलेरीतर्फ जाँदै गरेको जिप करिब डेढ सय मिटर तल खसेको थियो।

घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया