एन्फाको सहयोग नपाएपछि सावित्रा भण्डारीले गरिन् आर्थिक सहयोगको अपील


काठमाडौं -  नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले घुँडाको गम्भीर चोटका कारण उपचार खर्च जुटाउन आफ्ना समर्थकहरूलाई आर्थिक सहयोगको अपील गरेकी छिन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी सावित्राले भनेकी छन् कि पहिलेको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएलमा पुन: चोट लागेको हुँदा जटिल शल्यक्रियाको आवश्यकता परेको छ।

अघिल्लो पटक अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगले उपचार सहज भए पनि यसपटक उनलाई अपेक्षित प्रशासनिक र आर्थिक सहयोग प्राप्त नभएको उनले बताएकी छन्। आर्थिक अभावकै कारण शल्यक्रियाको मिति पनि पुन: तय गर्नुपरेको उनले स्पष्ट पारिन्।

हाल उनले आवद्ध क्लबको प्रस्ताव अनुसार न्युजिल्यान्डको स्थानीय अस्पतालमा उपचार गराउन सकिने भए पनि सावित्रा उच्चस्तरीय उपचारका लागि कतारको अस्पताल जाने योजना बनाइरहेकी छिन्। प्रारम्भिक अनुमान अनुसार उपचारमा ८० हजार अमेरिकी डलर खर्च लाग्नेछ।

सावित्राले समर्थकहरूलाई बैंक वा क्युआरमार्फत् सहयोग गर्न आग्रह गर्दै, विदेशी समर्थकका लागि ‘गिभअलिटिल’ लिंक मार्फत पनि सहयोग गर्न सकिने जानकारी दिइन्।

सावित्राले भावनात्मक अपीलमा भनिन्, “यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। थाकेकी छु, तर हारेकी छैन। फेरि एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।”

उनको यो अपील सामाजिक सञ्जाल र खेलकुद समुदायमा ठूलो चर्चा पाएको छ। समर्थकहरूले सहयोग जुटाउने पहल सुरु गरिसकेका छन्। यसैबीच, एन्फाको भूमिकालाई लिएर फेरि प्रश्नहरू उठिरहेका छन्।

प्रतिक्रिया