
किशोरी बलात्कारको अभियोगमा दुधौलीका मेयर पक्राउ
सिन्धुली – किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाको नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मेयर अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । किशोरी १७ वर्षको उमेर हुँदा जबरजस्ती करणीमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चासमेत जन्माएकी जाहेरीमा उल्लेख छ ।
जााहेरीमा उल्लेख गरेअनुसार किशोरी दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर दनुवारले जबरजस्ती करणी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती बालिकाले २०७१ गत फागुनमा बच्चा जन्माइसकेकी छन् । शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो ।
जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान जारी गरेको जनाए पनि मेयर फरार थिए । प्रहरी प्रमुख सुवेदीले नेपाल प्रेससँग मेयरलाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।



कागजपत्र |
