इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित


काठमाडौं-  जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा अपराध अनुसन्धान तथा प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेकामा उत्कृष्ट प्रहरीको रूपमा छनोट गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन्।

प्रहरीका अनुसार लामा अपराध नियन्त्रण, सूचना संकलन तथा अनुसन्धानमा सक्रिय र परिणाममुखी ढंगले कार्यरत रहँदै आएका छन्। विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित १० जनालाई धम्की दिएको आरोपमा फरार रहेका प्रकाश पाठकलाई फिलिपिन्सबाट काठमाडौं ल्याउने कार्यमा लामाले मुख्य भूमिका निर्वाह गरेका थिए।

उक्त सफल अनुसन्धान तथा अन्तर्राष्ट्रिय समन्वयमार्फत अभियुक्तलाई नेपाल ल्याउन सफल भएको योगदानलाई आधार मानेर उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको परिसरले जनाएको छ।

यसअघि फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठलाई पनि इन्स्पेक्टर वाङ्गेल लामाको विशेष टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको थियो।

इन्स्पेक्टर वाङ्गेल लामा पछिल्लो समय उपत्यकाको आपराधिक र गुण्डा सञ्जाल नियन्त्रणमा विशेष ख्याती कमाएका प्रहरी अधिकृत हुन्। गुण्डागर्दीमा संलग्न समूहहरू समेत उनलाई डर मान्ने गर्छन्।

वैशाख १३ कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ गर्न पुगेको टोली पनि लामाकै थियो। यस्तै गत पुष ७ बिहान ४ बजे दरबारमार्गस्थित लिक्विड लाउन्जमा गृहमन्त्री रमेश लेखकका भाञ्जा निर्घात कुटिएका घटनामा संलग्न ८ जनालाई ७ बजेभित्रै पक्राउ गर्न सफल टोली पनि उनकै थियो।

प्रतिक्रिया