दीपेन्द्र र सोमपालको उत्कृष्ट क्रिकेटसँगै विश्वकपको अन्तिम खेलमा नेपालको शानदार जित


काठमाडौं— दीपेन्द्रसिं ऐरीको उत्कृष्ट ब्याटिङ र सोमपाल कामीको उत्कृष्ट बलिङका मद्दततले विश्वकपबाट बाहिरिइसकेको नेपालले अन्तिम खेलमा ७ विकेटको शानदार जित हात पारेको छ । मंगलबार अन्तिम खेल स्कटल्याण्डसँग खेलेको नेपालका लागि सोमपाल कामीले ३ विकेट हात पार्दै स्कटल्याण्ड १७० रनमा रोकिएपछि नेपालले १७१ रनको लक्ष्य पाएको थियो ।

उक्त लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट सुरुवात दिलाउँदै जितको आधार खडा गरेका थिए । पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । नेपालको ७४ रन हुँदा भुर्तेल ४३ रनमा आउट भए । उनी आउट भएपछि नेपालको पारी लड्खडायो । नेपालले ८७ रन बनाउँदा आशिफ शेख पनि ३३ रनमा आउट भए भने ९८ रन हुँदा कप्तान रोहित पौडेल व्यक्तिगत १६ रन बनाउँदै आउट भए । उनीहरु तिनैजनाको विकेट मिचेल लिस्कले लिएका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक ५० रनको पारी खेल्दै जित दिलाए । त्यस्तै नेपालका लागि गुल्सन झाले २४ रन बनाएका थिए । उनले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिए ।

त्यस्तै, जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए ।

त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक÷एक विकेट झारे । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिं ऐरीले कुनै विकेट लिन सकेनन् ।

जारी विश्वकपमा नेपाल बलियो इंग्ल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने विश्वकपमा डेब्यू गरेको इटालीसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै बलियो वेस्ट इन्डिजसँग भने नेपाल ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया