
एकतर्फी जितपछि मैदानमै तनाव, हार्दिक–कुलदीपबीच चर्काचर्की
काठमाडाैं- भारतीय क्रिकेट टोलीले श्रीलंकाको आर. प्रेमादासा स्टेडियममा पाकिस्तानलाई ६१ रनले पराजित गर्दै सुपर–८ मा स्थान बनाएको छ। यस खेलमा भारतका ईशान किशन नायक बने, उनले ७७ रनको उत्कृष्ट पारी खेल्दै भारतलाई १७५ रनसम्म पुर्याए।
जवाफमा पाकिस्तानको टोली ११४ रनमै अलआउट भयो। भारतको जितपछि समर्थकहरू उत्सवमा डुबेका बेला मैदानमै भने अप्रत्याशित दृश्य देखियो। खेल सकिएपछि भारतीय टोलीका खेलाडीहरूबीच नै विवाद भएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।
भाइरल भिडियोमा हार्दिक पाण्ड्या र कुलदीप यादवबीच चर्काचर्की भएको देखिन्छ। उक्त विवादलाई शान्त पार्न रिंकु सिंह र कप्तान सूर्यकुमार यादवले बीच बचाव गरेको भिडियोमा देख्न सकिन्छ।
विवादको कारण खेलकै क्रममा भएको एक क्याच मिस रहेको बताइएको छ। खेलको १८औँ ओभरमा हार्दिकको बलमा शाहीन अफ्रिदीले प्रहार गर्दा बल बाउन्ड्री लाइन नजिक गयो। कुलदीपले सहज क्याच समात्ने अवस्थामा भए पनि अन्तिम क्षणमा बल हातबाट फुस्किँदै सिधै बाउन्ड्री पार गयो, जसबाट पाकिस्तानले ६ रन पायो। यसअघि अघिल्लो बलमै विकेटकिपर ईशान किशनले पनि क्याच छोडेका थिए।
लगातार दुई अवसर गुमेपछि हार्दिक असन्तुष्ट देखिएका थिए। खेल सकिएर ड्रेसिङ रुमतर्फ जाँदै गर्दा हार्दिक र कुलदीपबीच बहस भएको र कप्तान सूर्यकुमार यादव पनि कुलदीपप्रति झर्किएको देखिएको थियो। उक्त समयमा तिलक वर्मा चिन्तित देखिएका थिए भने रिंकु सिंहले माहोल शान्त बनाउने प्रयास गरेका थिए।
यद्यपि १८औँ ओभरको अन्तिम बलमा उस्मान तारिकको विकेट लिएर हार्दिकले भारतको जित सुनिश्चित गरे। अतिरिक्त रन जोडिन पुगे पनि हार्दिकले निर्णायक बलिङ गर्दै आफू ‘म्याच फिनिसर’ भएको प्रमाणित गरेका छन्।



कागजपत्र |
