
बांग्लादेशमा बीएनपीलाई बहुमत, तारिक रहमानका लागि प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं- बांग्लादेशमा सम्पन्न संसदीय निर्वाचनमा बाङ्ग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने आधार तयार पारेको छ। बीएनपीले निर्वाचनबाट आफ्नो पक्षमा दुईतिहाइ बहुमत आएको दाबी गरेको छ।
३०० सदस्यीय संसद्का लागि भएको मतदानमा बीएनपीले हालसम्म १५१ स्थानमा जित हासिल गरिसकेको छ। यस जितसँगै पूर्वराष्ट्रपति जियाउर रहमान तथा पूर्वप्रधानमन्त्री खालिदा जिया का छोरा तारिक रहमान का लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
तर निर्वाचनको नतिजालाई लिएर प्रतिद्वन्द्वी दल जमात–ए–इस्लामी ले आपत्ति जनाएको छ। उक्त दलले मतगणना प्रक्रियामाथि प्रश्न उठाउँदै परिणामप्रति असन्तुष्टि व्यक्त गरेको छ। ‘मतपरिणामसँग सम्बन्धित प्रक्रियाप्रति हामी सन्तुष्ट छैनौँ,’ जमात–ए–इस्लामीले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ।
यद्यपि बांग्लादेश निर्वाचन आयोगले निर्वाचन निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न भएको दाबी गरेको छ। प्रमुख निर्वाचन आयुक्त नासिर उद्दिनले सबै मतदाता, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै भने, ‘समग्रमा सबैको सहकार्यमा हामी स्वीकार्य निर्वाचन सम्पन्न गराउन सफल भयौँ।’
सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुने गरी भएको जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारले यो निर्वाचन गराएको हो। सो निर्वाचनमा १७ वर्ष निर्वासनमा बसेका तारिक रहमान पनि सहभागी भएका थिए, जसका लागि उनी स्वदेश फर्किएका थिए।
परिणाम आफ्नो पक्षमा नआएपछि जमात–ए–इस्लामीले आफ्ना समर्थकहरूलाई धैर्य अपनाउन आग्रह गरेको छ। मतदानपछि सञ्चारमाध्यमहरूले गरेका प्रक्षेपणमा पनि मध्यदक्षिणपन्थी बीएनपीले ठूलो जित हासिल गर्ने देखिएको थियो।
अन्तिम मतपरिणाम शुक्रबार अबेरसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। स्थानीय प्रसारकहरूले बीएनपीले करिब दुईतिहाइ बहुमत ल्याउने अनुमान गरेका छन्।
यस निर्वाचनमा शेख हसिनाको अवामी लिग पार्टी लाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। उक्त दलले निर्वाचन बहिष्कार गर्न आह्वान गरेको थियो।
हसिना देश छाडेर गएपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकारले बाङ्ग्लादेशको शासन सञ्चालन गर्दै आएको छ। बिहीबार सम्पन्न निर्वाचनले बाङ्ग्लादेशमा प्रतिनिधि शासनको नयाँ युग सुरु हुने धेरैको अपेक्षा छ।



कागजपत्र |
