
दार्चुलामा प्रहरी हवल्दारकाे हत्या : शव व्यवस्थापनमा संलग्न आरोपित पक्राउ
दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यससँगै उक्त घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भने अन्य तीन जना अझै फरार छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मंगलबार साँझ पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानअनुसार शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा उनलाई जिल्ला सदरमुकाम क्षेत्रबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेका अन्य तीन जनाको खोजी तीव्र पारिएको छ । यसअघि प्रहरीले सोही प्रकरणमा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिसकेको छ ।
घटनासँग प्रत्यक्ष रूपमा जोडिएको आरोपमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिस पाल भने अझै फरार छन् । उनीहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती हुन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बियर बारमा दिपिकालाई जिस्काएको निहुँमा आशिक पालले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको खुलेको छ ।
पक्राउ परेकाहरूको बयानअनुसार आशिक पाल र उनका भाइ मनिस पालले कुटपिट गर्दा घर्तीको मृत्यु भएको हो । यद्यपि, ती बयानहरूको सत्यता पुष्टि गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मुख्य अभियुक्तहरू पक्राउ परेपछि घटनाबारे थप तथ्य र वास्तविकता खुल्ने विश्वास व्यक्त गरेको छ ।



कागजपत्र |
