
नवलपरासीमा बुहारीलाई जिउँदै जलाउने प्रयास, सासू पक्राउ
नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७, पट्खौलीमा आफ्नै बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा ५० वर्षीय कमली देवी हरिजनलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार २७ वर्षीया शर्मिला हरिजनको जाहेरीको आधारमा कमली देवीलाई सोधपुछका लागि नियन्त्रणमा राखिएको हो।
शर्मिलाले शनिबार राति आफूलाई मट्टितेल खन्याएर आगो लगाई जिउँदै जलाउने प्रयास गरिएको भन्दै आफ्नै सासू कमली देवी, विष्णु हरिजन र गजेन्द्र हरिजनविरुद्ध प्रहरीमा निवेदन दिएकी थिइन्।
प्रहरीका अनुसार घटनास्थलमा गई हेर्दा कोठामा केही लत्ताकपडा जलेको पाइए पनि शर्मिलाको शरीरमा कुनै चोटपटक देखिएको छैन।
कमली देवी नियन्त्रणमा रहँदा, विष्णु र गजेन्द्र हरिजन भने फरार रहेका छन्। शर्मिलाका पति हाल अस्ट्रेलियामा बस्दै आएका छन्। उनले श्रीमान् विदेशमा हुँदा आफूमाथि शारीरिक तथा मानसिक हिंसाका घटना भइरहेको प्रहरी समक्ष बताएकी छन्।
प्रहरी नायब उपरीक्षक पन्तले निवेदन प्राप्त भएलगत्तै घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।



कागजपत्र |
